काठमाडौं - बागमती प्रदेश सरकारले प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
शनालय बागमती प्रदेश, शिक्षा विकास निर्देशनालयले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन् ।
कार्यक्रममा मेडिकल डाक्टरतर्फ १ र सिभिल इन्जिनियरिङ, भेटनरी डाक्टर र कृषितर्फ २–२ जनालाई छात्रवृत्ति वितरण गरिएको थियो ।
स्नातक तहका कार्यक्रमतर्फ तीन किस्तामा छानवृत्ति रकम उपलव्ध गराइने निर्देशनालयले जनाएको छ । छात्रवृत्ति वितरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आर्थिक अभाव भएका र अभिभावकविहीन विद्यार्थीहरूको अभिभावकत्व बागमती प्रदेश सरकारले लिने निर्णय अनुसार गरिबका छोराछोरीलाई प्राविधिक तथा प्रविधि मैत्री शिक्षा पढाउनका लागि विशेष व्यवस्था गरिएको बताए ।
बागमती प्रदेश सरकारले आउँदो वर्षको बजेटमा गाउँवस्तीका सामुदायिक तथा आधारभूत विद्यालयहरूमा एआई सम्बन्धी शिक्षा प्रणाली समावेश गर्ने र पढाउने योजना अघि सारेको उनले जानकारी दिए ।

