एजेन्सी - विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनाम प्रहरीले करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध कारोबार सञ्चालन गर्ने दुई ठूला सट्टेबाजी गिरोहको पर्दाफास गर्दै ८५ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जुनको अन्त्यतिर गरिएको छापामा उच्च तहको सङ्गठित संरचनामा सञ्चालित दुई सञ्जाललाई लक्षित गरिएको थियो। प्रारम्भिक अनुसन्धानले ती गिरोहले गत अक्टोबरदेखि अनलाइनमार्फत ठूलो परिमाणमा अवैध सट्टेबाजी सञ्चालन गरेको देखाएको छ।
अनुसन्धानअनुसार गिरोहका मुख्य सञ्चालकहरूले कम्बोडियाबाट प्राप्त ‘मास्टर’ स्तरका सट्टेबाजी खाता प्रयोग गरी एजेन्ट र सदस्यमार्फत जुवाडेहरूलाई अनलाइन पहुँच उपलब्ध गराउँदै आएका थिए।
भियतनाममा अनलाइन जुवा कानुनी रूपमा प्रतिबन्धित भए पनि विश्वकपजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला अवैध सट्टेबाजी उल्लेखनीय रूपमा बढ्ने गरेको छ। त्यसैले सरकारले प्रतियोगिताको अवधिभर देशव्यापी निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार गत सातामात्रै ७३ वटा अवैध जुवा सञ्जाल ध्वस्त पारिएको छ भने विश्वकप सुरु भएको पहिलो २० दिनमै अवैध जुवा तथा फुटबल सट्टेबाजीमा संलग्न ३४६ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ।
मन्त्रालयका कर्नेल बुई तुआन आनका अनुसार ती घटनामा हजारौँ अर्ब भियतनामी डोङ अर्थात् सयौँ करोड अमेरिकी डलर बराबरको अवैध कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ।
यस वर्षको विश्वकप फुटबल प्रतियोगिता क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेका छन् भने फाइनल खेल जुलाई १९ मा हुने तालिका छ।

