काठमाडौं - देशभर मनसुन सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाएको छ। साथै, कोशी, बागमती र मधेस प्रदेशका केही तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने अनुमान गरिएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा पहिरो प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

