Harsamaya
न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको न्युरोडस्थित कर्नर प्वाइन्ट रेष्टुरेण्ट एण्ड बार प्रालीलाई खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापरबाही गरेको भन्दै २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले रेस्टुरेन्टमा गम्भीर सरसफाइ र खाद्य सुरक्षा समस्या फेला पारेपछि कारबाही गरेको हो ।

अनुगमन टोलीले गत असार १९ गते गरेको निरीक्षणका क्रममा रेस्टुरेन्टभित्र प्रयोग भइरहेको पिज्जा बेस बनाउने तेलमा मरेको साङ्लो भेटिएको जनाएको छ । त्यसैगरी, उपभोक्तालाई प्रयोग गरिने फ्रुट सिरप (स्क्वास) म्याद नाघेको अवस्थामा फेला परेको थियो, जसले उपभोक्ता स्वास्थ्यमा प्रत्यक्ष जोखिम सिर्जना गर्ने देखिएको विभागको भनाइ छ ।

टोलीले रेस्टुरेन्टमा प्रयोग भइरहेको तेलको परीक्षण गर्दा टीपीएम मान २२.० पुगेको पाइएको पनि उल्लेख गरेको छ, जुन खाद्य तेल पुनः प्रयोग र गुणस्तर ह्रासको संकेत मानिन्छ । यस्तै, भण्डारण प्रणाली अत्यन्तै अव्यवस्थित रहेको, फ्रिजमा राखिने खाद्य सामग्रीहरू सही ढंगले छुट्याएर नराखिएको तथा सरसफाइको अवस्था सामान्यभन्दा कमजोर रहेको पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको हो । साथै, म्याद नाघेको तथा लेबल नभएको दुई बोतल स्क्वास तत्कालै नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।

त्यसैगरी, फेला परेका कैफियत सुधार गर्न र आगामी तीन दिनभित्र सुधारका प्रमाणसहित विभागमा उपस्थित हुन रेस्टुरेन्ट प्रशासनलाई निर्देशन दिइएको छ । विभागका अनुसार उपभोक्ता स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी लापर्बाही गर्ने व्यवसायलाई अब कडाइका साथ नियमन गरिनेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम यस्तो कारबाही गरिएको जानकारी दिँदै उपभोक्ता स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि व्यवसायलाई छुट नदिने स्पष्ट पारेकी छन् ।

अनुगमन टोलीले रेस्टुरेन्टको समग्र सञ्चालनमा प्रणालीगत कमजोरी रहेको निष्कर्ष निकालेको छ । विशेषगरी खाद्य सामग्रीको भण्डारण, सरसफाइ व्यवस्थापन र म्याद निगरानीमा गम्भीर कमजोरी देखिएको भन्दै दीर्घकालीन सुधार आवश्यक रहेको सुझाव दिइएको छ ।

उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने निकायहरूले यस्ता घटनाले काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका केही रेस्टुरेन्टहरूको खाद्य सुरक्षा अवस्था अझै सन्तोषजनक नरहेको संकेत गरेको बताएका छन् । 

उनीहरूले नियमित अनुगमन, कडाइका साथ कानुनी कार्यान्वयन र व्यवसायीको जिम्मेवारीबोध आवश्यक रहेको जोड दिएका छन् । यस घटनापछि सम्बन्धित निकायले खाद्य व्यवसाय सञ्चालन गर्ने सबै रेस्टुरेन्ट तथा होटलहरूलाई स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न पुनः चेतावनी दिएको छ ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update