Harsamaya
राजमार्ग क्रस गर्ने क्रममा पाँचखालमा स्कुटर र ईभी ठोक्किँदा एक महिलाको मृत्यु
स्कुटर र ईभी गाडी ठोक्किँदा एक युवतीको मृत्यु।

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको पाँचखालमा स्कुटर र ईभी गाडी ठोक्किँदा एक युवतीको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका–४ स्थित अरनिको राजमार्गमा बुधबार बिहान करिब ९ः३० बजे भएको दुर्घटनामा स्कुटर चालक २४ वर्षीया मिनकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भित्री सडकबाट राजमार्ग क्रस गर्ने क्रममा प्रदेश ३–०२–००१ प ९५०१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आइरहेको ईभी गाडी एकापसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल पुर्‍याइएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा ईभीमा सवार ६५ वर्षीय गोपाल भुजेल मध्यम घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनापछि ईभी चालक कर्णबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन पनि प्रहरीको नियन्त्रणमा रहेका छन् ।

अरनिको राजमार्गमा बढ्दो सवारी चाप र जथाभावी सडक पार गर्ने क्रममा हुने दुर्घटनाले सडक सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update