काभ्रे - बर्डफ्लु संक्रमण फैलिएपछि काभ्रेपलाञ्चोकमा ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार बनेपा नगरपालिका–६ र १३ तथा पनौती नगरपालिका–७, ८ र ९ का केही व्यावसायिक पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएपछि ४० हजार ७२९ वटा हाँस र लेयर्स कुखुरा नष्ट गरिएको हो।
वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार मरेका कुखुरा र हाँसलाई खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
संक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन र कुखुराको ओसारपसारमा कडाइ गरिएको कार्यालयले जनाएको छ। साथै, पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न, खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न र नियमित सरसफाइ गर्न किसानलाई आग्रह गरिएको छ।
नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिनाको तथा अवैध रूपमा कुखुरा ओसारपसार रोक्न निगरानीसमेत कडा पारिएको छ।

