Harsamaya
तीन करोड ५१ लाखभन्दा बढीका अवैध सामग्री बरामद
रसुवा भन्सार कार्यालय ।

रसुवा - चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा तीन करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको छ।

रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले संयुक्त रूपमा राजस्व चुहावट नियन्त्रण अभियान सञ्चालन गर्दै उक्त परिमाणको अवैध सामान नियन्त्रणमा लिएको हो।

बरामद सामग्रीमा चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप, चुरोटलगायतका सामान छन्। भन्सार कार्यालयका अनुसार बरामद भएका सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य उपभोग्य वस्तु रहेका छन्।

सुरक्षा निकायले प्रारम्भिक मूल्याङ्कनपछि बरामद सामग्री भन्सार कार्यालयमा बुझाउने गरेका छन्। बिक्रीयोग्य सामग्री कानुनी प्रक्रिया पूरा गरेर लिलाम गरिने र उपभोग गर्न नमिल्ने वस्तु नष्ट गरिने व्यवस्था रहेको भन्सार कार्यालयले जनाएको छ।

यसैबीच, एम्बुलेन्समा चिनियाँ चुरोट लुकाएर ओसारपसार गरेको आरोपमा पक्राउ परेका आमाछोदिङ्मो गाउँपालिकाका एम्बुलेन्स चालक कानुनी प्रक्रिया पूरा भएपछि धरौटीमा रिहा भएका छन्। भन्सार कार्यालयले एम्बुलेन्स सम्बन्धित गाउँपालिकालाई फिर्ता गरिएको जनाएको छ।

भन्सार र सुरक्षा निकायले राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न संयुक्त अनुगमनलाई अझ प्रभावकारी बनाइने बताएका छन्।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update