Harsamaya

चितवन - भरतपुर महानगरपालिका–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा असर पर्ने खालको खाना बिक्री गरेको आरोपमा तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार जारी गरेको सूचनाअनुसार उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले होटलमा निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी खानाका परिकार उपलब्ध गराएको पाइएको जनाएको छ। सो होटलमा गृहमन्त्री सुधन गुरुङले अण्डा खाँदा माछाको काँडा भेटेका थिए ।

उक्त कार्यले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) उल्लंघन गरेको ठहर गर्दै सहायक प्रमुख जिल्ला अधिकारी (निरीक्षण अधिकृत) को निर्णयअनुसार होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको हो।

साथै, अनुगमनका क्रममा बरामद गरिएका खाद्य सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update