काठमाडौं - देशका विभिन्न स्थानमा पछिल्ला केही दिनयता वर्षा बढ्न थालेको छ। पूर्वबाट मनसुन भित्रिए पनि अझै देशभर फैलिन नसकेकाले स्थानीय र पश्चिमी वायुको प्रभावमा धेरै ठाउँमा बदली र वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तनहुँमा १३३ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, पर्वतमा ६८, सुनसरी र मोरङमा ६३/६३, लमजुङमा ६०, खोटाङमा ५५.६ र कास्कीमा ५१ मिलिमिटर वर्षा भएको छ।
यता, केही दिनअघि ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको तराईको तापक्रम केही घटेको छ। नेपालगञ्जमा शनिबार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ। तराईका केही क्षेत्रमा भने अझै केही दिन गर्मीको प्रभाव कायम रहने मौसमविद्हरूले बताएका छन्।
मौसमविद् दिनकर कायस्थका अनुसार अहिले पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव भए पनि त्यो कमजोर अवस्थामा छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ।
विभागले कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशीका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आइतबार पनि कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने र लुम्बिनी, सुदूरपश्चिम, बागमती तथा गण्डकीका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

