Harsamaya
बालक अपहरणमा संलग्न भारतीय नागरिकसहित ६ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

चितवन - चितवनको भरतपुर महानगरपालिका–३ बाट अपहरणमा परेका १६ वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरिएको छ भने दुई जना अझै फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जेठ ३१ गते साँझ करिब ५ बजे बालक हराएको सूचना प्राप्त भएको थियो। सोही राति करिब ११ बजे पीडितका बुवाको मोबाइलमा फोन गरी अपहरणकारीहरूले फिरौतीस्वरूप २१ लाख रुपैयाँ मागेका थिए।

घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवन, अपराध अनुसन्धान कार्यालय तथा प्राविधिक टोलीको सहयोगमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा अपहरित बालकलाई काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले होटलको कोठाबाट ५ जना र भरतपुर महानगरपालिका–३ बाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये सबै भारतको बिहार राज्यको बेतिया जिल्लाका बासिन्दा हुन्।

पक्राउ पर्नेमा १९ वर्षीय सुजित कुमार साह, १८ वर्षीय मोहमद साहिद, १८ वर्षीय गोलु कुमार साह, १८ वर्षीय अंशु सोनी, १९ वर्षीय विक्की पटेल र १८ वर्षीय समक्ष शर्मा रहेका छन्।

घटनामा संलग्न ममताज आलम र हिन्दु चौहान भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अपहरणमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कार, मोबाइल फोनलगायतका सामग्री बरामद गरेको छ।

पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत चितवनबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update