Harsamaya
पत्रकार परिचयपत्र देखाएर ‘म प्रहरी हुँ’ भन्दै धम्क्याउने शैलेश डंगोल पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वाकीटकी सेट र नवीकरण नभएको पत्रकार परिचयपत्र प्रयोग गरी आफूलाई प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याउने एक व्यक्तिलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति करिब ९:२५ बजे काठमाडौं महानगरपालिका–३२ स्थित फुटसल ग्राउन्डमा एक व्यक्तिले प्रहरीको प्रयोगमा आउने वाकीटकी देखाउँदै ‘म प्रहरी हुँ’ भन्दै धाकधम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त काँडाघारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ निवासी ४७ वर्षीय शैलेश डंगोल रहेका छन्। प्रहरीका अनुसार उनको साथबाट बाओफेङ कम्पनीको एक थान वाकीटकी सेट, दुई थान ब्लुबुक तथा सूचना तथा प्रसारण विभागबाट प्रभाव दैनिक सञ्चार संस्थाको प्रेस प्रतिनिधिका नाममा जारी भएको तर नवीकरण नगरिएको पत्रकार परिचयपत्र बरामद गरिएको छ।

प्रहरीले डंगोललाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update