Harsamaya
भारतबाट ल्याउँदै गरेको ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सर्लाही - सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकै चेकजाँचका क्रममा मधेश प्रदेश ०५–००१ प ११०६ नम्बरको मोटरसाइकललाई रोकेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र सोही ठाउँका २४ वर्षीय रुपेश कुमार यादव शंकास्पद अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट एक हजार दरका दुई हजार पाँच सय थान नोट बराबर २५ लाख रुपैयाँ, पाँच सय दरका एक हजार तीन सय थान नोट बराबर ६ लाख ५० हजार रुपैयाँ तथा एक सय दरका पाँच सय थान नोट बराबर ५० हजार रुपैयाँ बरामद गरेको छ। यसरी बरामद भएको नगदको कुल रकम ३२ लाख रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।

बरामद गरिएको नगद, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी रकमको स्रोत तथा सम्भावित अवैध कारोबारसँगको सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update