भैरहवा - रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ शहिदपथ क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा पार्किङ गरेर छाडिएका दुई सवारीसाधन फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सवारीसाधनमध्ये युपी ५३ बीडी ००२९ नम्बरको हुन्डाई कम्पनीको कार र युपी ५३ डिएफ ६९८० नम्बरको महिन्द्रा कम्पनीको कार रहेका छन्। दुवै सवारीसाधनको अनुमानित बजार मूल्य करिब २७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सवारीसाधनका धनी तथा प्रयोगकर्ताबारे थप अनुसन्धान भइरहेको छ। बरामद गरिएका दुवै कार आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीमा बुझाइएको छ।
सीमावर्ती क्षेत्रमा बेवारिसे र शंकास्पद अवस्थामा सवारीसाधन फेला पर्ने क्रम बढ्दै गएपछि प्रहरीले निगरानीलाई थप कडा बनाएको जनाएको छ।

