Harsamaya
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड
कर्णाली प्रदेश सभा ।

सुर्खेत - कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा बजेट आकार ७.२८ प्रतिशतले वृद्धि भएको जानकारी दिए।

प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ रु २० अर्ब ७४ करोड ६७ लाख १२ हजार विनियोजन गरिएको छ भने चालुतर्फ रु ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार छुट्याइएको छ। यस्तै वित्तीय व्यवस्थापनका लागि रु ५० करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि रु ५ अर्ब ५४ करोड ७२ लाख ८० हजार विनियोजन गरिएको छ।

प्रदेश सरकारले आगामी वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोत परिचालन गर्ने जनाएको छ। बजेटका लागि आन्तरिक आयबाट रु ८५ करोड ५ लाख ९० हजार, चालु आवबाट बचत हुने रु ६ अर्ब ४१ करोड ५१ लाख ९ हजार, तथा सङ्घीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडको रु १० अर्ब ६६ करोड ५० लाख ४९ हजार रकम स्रोतका रूपमा रहनेछ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १० अर्ब ६३ करोड २३ लाख, सशर्त अनुदान रु ५ अर्ब ६७ करोड २५ लाख, समपुरक अनुदान रु ६६ करोड ७८ लाख तथा विशेष अनुदान रु ४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

मन्त्री शाहले सङ्घीय सरकारमार्फत प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायता सञ्चालित कार्यक्रमका लागि आवश्यक स्रोत प्रदेश सरकारले व्यवस्थापन गर्ने बताए।

गत आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश सरकारले रु ३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार बराबरको बजेट ल्याएको थियो। आगामी वर्षका लागि बजेटको आकार बढेसँगै विकास निर्माण, पूर्वाधार विस्तार तथा स्थानीय तहको वित्तीय सुदृढीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update