काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनाप्रति प्रतिक्रिया जनाउँदै त्यसको आशय हिंसा प्रवर्द्धन गर्नु नभई गैरजिम्मेवार र लापरवाहीपूर्ण कार्यशैलीविरुद्ध कडा सन्देश दिनु रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले मन्त्री लम्सालको अभिव्यक्तिलाई शब्दशः व्याख्या गरेर विवाद सिर्जना गर्न नहुने बताए। उनका अनुसार उक्त भनाइको मूल उद्देश्य जनताको सेवामा बसेर आफ्नो दायित्व पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने र राज्य प्रणालीलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध चेतावनी दिनु हो।
उनले लेखेका छन्, ‘भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल ‘ज्यूले खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको भन्दै केहीले विरोध गरिरहेका छन्। तर मेरो बुझाइमा उक्त अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन गर्नु होइन, कानुन मिच्ने, लापरवाही गर्ने र जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिनु हो।’
शाहीले जनप्रतिनिधि र सरकारी जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गर्दै दण्डहीनताको संस्कृतिको अन्त्य आवश्यक रहेको बताए।
‘जनताको सेवामा बसेर आफ्नो जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने र राज्यको प्रणालीलाई कमजोर बनाउनेहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नै पर्छ,’ उनले भने।
उनले जनताले अब आश्वासन र बहानाभन्दा परिणाममुखी कामको अपेक्षा गरेको उल्लेख गर्दै अनुशासन, जवाफदेहिता र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
‘जनताले परिणाम चाहेका छन्, बहाना होइन। अनुशासन, जवाफदेहिता र परिणाममुखी कार्यसंस्कृति स्थापित नगरी सुशासन सम्भव हुँदैन र देशले अपेक्षित गति लिन सक्दैन,’ शाहीको भनाइ छ।
साथै, जिम्मेवारीबाट पन्छिने र आफ्नो कामप्रति उत्तरदायी नहुने प्रवृत्तिलाई संरक्षण गर्न नहुने उनको तर्क छ। उनले कानुनअनुसार सबैलाई उत्तरदायी बनाउने समय आएको बताए।
‘जिम्मेवारीबाट भाग्नेहरूलाई संरक्षण होइन, कानुनअनुसार उत्तरदायी बनाउने समय आएको छ,’ उनले उल्लेख गरेका छन्।
मन्त्री लम्सालको विवादास्पद अभिव्यक्तिपछि राजनीतिक वृत्तमा पक्ष र विपक्षमा बहस चलिरहेका बेला शाहीले त्यसलाई सुशासन र जवाफदेहिताको सन्देशका रूपमा व्याख्या गर्दै सार्वजनिक रूपमा समर्थन जनाएका हुन्।

