Harsamaya
संसदमा सीताले सुनाइन ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता
सांसद उर्मिला(सीता)थपलिया ।

काठमाडौं - प्रतिनिधिसभाको विहीबारको बैठकमा नेपाली कांग्रेसकी सांसद उर्मिला(सीता)थपलियाले कविता वाचन गरेकी छन् । 

प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

उनले देश बिर्सिएको दिन शीर्षकको कविता सुनाएकी हुन् । 

देश बिर्सिएको दिन 

तिमीले देश बनाउँछु भन्यौ  
म ढुक्क थिएँ  
तर एकाएक  
तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै
आफ्नै आमाको
अस्मितामाथि औँला उठायौ !
माटो छोएर कसम खायौ  
तर 
त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ  
अनि आमाको महिमा गाइरह्यौ  
तर सन्तान हुनुको कर्तव्य भुल्यौ  
काख र कोखको माया बिर्सियौ  !
त्यसैले आज म ढुक्क होइन 
मेरो मन देशको चिन्ताले 
ढुकढुक भैरहेको छ । । 


स्वार्थले प्रेरित भएपछि
सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स  
तिमीमाथि असीम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स  
जनता उभिएको माटोलाई नबिर्स  
तिमीलाई आशिष दिने 
 ति बा–आमालाई नबिर्स ! ! !

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने  
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ  
र जुन दिन देश बिर्सिन्छौ  
त्यो दिन 
तिमि कस्को शासक बन्नेछौ ?

भन 
त्यो दिन तिमि 
कस्को शासक बन्नेछौ?

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update