Harsamaya
अदालतको लेटरप्याडदेखि न्यायाधीशको दस्तखतसम्म किर्ते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौं  जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत र अदालतको छापसमेत किर्ते गरी नक्कली आदेशपत्र बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल टोखामा बस्दै आएका २६ वर्षीय विवस अधिकारीलाई काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको हो।

सिआइबीका अनुसार अधिकारीले २०८२ चैत १५ गते अदालतको नक्कली लेटरप्याड प्रयोग गरी मुद्दा खोल्ने र पुनःप्रमाणीकरणसम्बन्धी झुट्टा सूचना तयार पारेका थिए। उनले मुद्दाको अन्तिम निर्णयपछि आफ्नै बैंक खातामा दुई करोड १३ लाख रुपैयाँ रकमान्तरण हुने व्यहोरासहितका कागजातसमेत बनाएको अनुसन्धानबाट खुलेको छ।

यति मात्र होइन, उनले चैत २४ गते अदालतबाट नै सेवा शुल्कबापत एक लाख छ हजार रुपैयाँ बुझाउन आदेश दिइएको भन्ने झुट्टा लिखतसमेत तयार पारेको प्रहरीले जनाएको छ। अदालतबाट सामान्यतया जारी नहुने अस्वाभाविक विवरण राखेर कागजात तयार गरिएको अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार उनले काठमाडौं जिल्ला अदालतको लेटरप्याड नक्कली रूपमा तयार पार्नुका साथै न्यायाधीश, श्रेस्तेदार र शाखा अधिकृतको दस्तखत तथा अदालतको आधिकारिक छापसमेत किर्ते गरी प्रयोगमा ल्याएका थिए।

अदालतका कर्मचारीले घटनाबारे निवेदन दिएपछि सिआइबीले अनुसन्धान थालेको थियो। पक्राउपछि गरिएको खानतलासीका क्रममा अधिकारीको डेरा कोठाबाट विभिन्न कीर्ते कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर सरकारी लिखत किर्ते र ठगीसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अघि बढाएको छ। अदालतको आधिकारिक कागजात नै नक्कली बनाउने प्रयासले न्यायिक प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको भन्दै प्रहरीले घटनालाई संवेदनशील रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  २१:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update