काठमाडौं - नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।
मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थीत मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभा ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि मन्त्री गुरुङले सञ्चारकर्मीसँग कुरा गर्दै सत्य र तथ्यका आधारमा मात्रै आलोचना गर्न आग्रह गर्दै नागरिकको अपमान र चरित्र हत्या गर्ने प्रवृत्ति विरुद्ध मन्त्रालय संवेदनशील भएर प्रस्तुत हुने चेतावनी दिए ।
पदभार ग्रहणकै क्रममा मन्त्री गुरुङले गृह प्रशासन र सुरक्षा निकायलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ७ वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।
उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन तथा सिफारिसका लागि विशेष कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
यसका साथै गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट रोक्न र सूक्ष्म निगरानीका लागि ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलेन्स टिम’ गठन गर्ने निर्णय गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने, हाल अनुसन्धानमा रहेका पुराना फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउने तथा जघन्य, आर्थिक र सङ्गठित अपराधका घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न सीआईबीमा ‘स्पेशलाइज्ड टिम’ (विशेष टोली) गठन गर्ने निर्णय समेत मन्त्री गुरुङले गरेका छन् ।
यस अवसरमा उनले विगतका सबै गम्भीर प्रकृतिका घटनाका फाइलहरूलाई निष्कर्षमा पुर्याउने संकेत गर्दै अबदेखि हरेक फाइल खोलिने र कुनै पनि विषयलाई बेवास्ता नगरिने स्पष्ट पारे ।

