धनगढी - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ ।
नवनियुक्त मन्त्रीमध्ये विक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री नियुक्त भएका छन् ।
यस्तै, जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । नयाँ मन्त्री र राज्यमन्त्रीको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको असन्तुष्ट पक्षले समेत प्रतिनिधित्व पाएको छ ।

