सिन्धुपाल्चोक - संगठन विस्तार र जिल्ला संरचना मजबुत बनाउने उद्देश्यसहित सुकुटेमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशन नेतृत्व चयनमा सहमति नजुटेपछि अन्ततः स्थगित भएको छ। प्रतिनिधि छनोटदेखि नै चुलिँदै आएको आन्तरिक असन्तुष्टि अन्ततः खुला विवादमा परिणत भएपछि अधिवेशन प्रक्रिया नै रोकिएको हो।
अधिवेशनमा जिल्ला सभापति पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा देखिएको थियो। जेपी सिलवाल, चक्रपाणि सिग्देल, पासाङ तामाङ, दिलमान श्रेष्ठ र कुमार श्रेष्ठ सभापति पदका आकांक्षीका रूपमा अघि आएका थिए। तर नेतृत्व चयनमा सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाले गति लिन सकेन।
पार्टीभित्रको शक्ति सन्तुलन र प्रतिनिधि चयनकै चरणदेखि देखिएको असहमति अन्तिम चरणसम्म आइपुग्दा गुटगत प्रतिस्पर्धामा रूपान्तरण भएको स्रोतहरूले बताएका छन्। विशेषगरी पुराना सक्रिय कार्यकर्ता र पछिल्लो निर्वाचनपछि पार्टीमा जोडिएका समूहबीचको मतभेदले विवादलाई अझ जटिल बनाएको देखिएको छ।
निर्वाचन प्रक्रिया सहज बनाउन केन्द्रीय निर्वाचन समितिले काभ्रेका सांसद मधुकुमार चौलागाईंको संयोजकत्वमा तीन सदस्यीय टोली खटाएको थियो। तर निर्वाचन स्थल र प्रक्रियाबारे नै दुई पक्षबीच सहमति नजुटेपछि प्रक्रिया अघि बढ्न सकेन।
एक पक्षले अधिवेशनको बाँकी बन्दसत्र मेलम्चीमा सार्नुपर्ने अडान राख्दा अर्को पक्षले सदरमुकाम चौतारामै प्रक्रिया सम्पन्न गर्नुपर्ने तर्क गरेको थियो। स्थान चयनमै विवाद चर्किएपछि सहमतिको वातावरण झनै कमजोर बनेको हो।
समन्वय प्रयास असफल भएपछि अन्ततः अधिवेशन स्थगित गरिएको जानकारी दिइएको छ। पार्टीका संयोजक चौलागाईंले विवाद समाधानका लागि पहल गरे पनि दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा निष्कर्षमा पुग्न नसकिएको बताइएको छ।

