काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र एकता प्रयास असफल बन्दै गएको संकेत गर्दै सभापति गगनकुमार थापा सँग ३१ दिनदेखि कुनै सम्पर्क वा संवाद नभएको खुलासा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै खड्काले पार्टीभित्र चलाइएका भ्रमपूर्ण हल्ला र क्रियाशील सदस्यतासम्बन्धी गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले दुई महिनादेखि पार्टी एकताका लागि इमान्दार प्रयास गरे पनि कुनै उल्लेखनीय प्रगति नभएको बताएका छन्।
खड्काले विशेषगरी १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यहरूको अद्यावधिकका नाममा देशभर दबाब सिर्जना गरिएको गुनासो आएको दाबी गरेका छन्। उनका अनुसार विगत केही दिनदेखि देशका विभिन्न जिल्लाबाट आफूलाई फोनमार्फत यस्ता गुनासा प्राप्त भइरहेका छन्।
उनले महाधिवेशनका लागि नवीकरण गरिएका तथा नयाँ क्रियाशील सदस्यता लिएका कुनै पनि सदस्यलाई अद्यावधिक नभएको बहानामा महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नसकिने स्पष्ट पारे। ‘महाधिवेशनमा सबैले स्वतः सहभागी हुन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो,’ उनले उल्लेख गरेका छन्।
खड्काले नेताहरूको क्रियाशील सदस्यता स्वतः केन्द्रले अद्यावधिक गरिदिने भन्ने विषयमा फैलाइएका समाचार र चर्चालाई पनि ‘अफवाह’को संज्ञा दिएका छन्। यस्ता गतिविधिले पार्टी पंक्तिमा भ्रम सिर्जना गर्ने र संगठनात्मक एकतालाई कमजोर बनाउने उनको आरोप छ।

