काठमाडौं - ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगरले पत्नी ईश्वरी भुजेलको हत्यापछि वालाजु प्रहरी बृत्तमा पुगेर आफन्तहरुले कडा कारवाहीको माग गरेका छन् ।
शुक्रबार बेलुकी तारकेश्वर नगरपालिकास्थित लोलाङ, पैँयुटारमा स्कुटीमा सवार ईश्वरीको टाउकोमा कुमारले रड प्रहार गरी हत्या गरेका थिए । हत्यारालाई कडा कारवाहीको माग राख्दै आफन्त र शुभेच्छुकहरुले प्रहरी कार्यालय वालाजु अगाडि नारावाजी समेत गरेका थिए ।
शनिबार दिउँसो परिवारका सदस्य एवम शुभेच्छुकहरुले प्रहरी कार्यालय अगाडि भेला भइ कारवाहीको माग गरेका हुन् । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटी, पूर्वगृहमन्त्री सुधन गुरुङले पनि वालाजु बृत्तमा पुगेर हत्यारालाई आवश्यक कारवाहीको माग राखेका थिए ।
नेपाली सेनामा कार्यरत ईश्वरीको हत्या पश्चात पूर्वगृहमन्त्री गुरुङले हत्यामा संलग्नलाई कडा कारबाहीको मागसहित सत्यतथ्य छानबिन गर्न अनुरोध गरेका थिए । गुरुङले मृतक ईश्वरी भुजेलको आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए ।
रड प्रहारबाट सिकिस्त भएकी इश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको हो । कुमार आफूलाई रेस्लर र फाइटरका रुपमा पनि चिनाउने गर्दछन् । ४२ वर्षीय उनीहरूबीच सम्बन्ध बिच्छेदको तयारी गरिएको थियो ।

