नारायणगढ - नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। शुक्रबार बसेको सङ्घको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ र सानो अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ। यससँगै खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मी मौसमका कारण उत्पादनमा आएको कमी, बजारमा बढ्दो माग तथा किसानको उत्पादन लागत वृद्धि भएकाले मूल्य समायोजन गरिएको हो।
पछिल्लो एक महिनामै अण्डाको मूल्य उल्लेख्य रूपमा बढेको छ। वैशाख २४ गते ४६५ रुपैयाँ रहेको एक्सएल अण्डाको मूल्य अहिले ५६० रुपैयाँ पुगेको छ, जुन करिब २० प्रतिशत वृद्धि हो।
सङ्घका अनुसार उत्पादन घट्नु, पर्यटक आगमन बढ्नु, सीमा क्षेत्रमा आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुले अण्डाको मूल्य उकालो लाग्न सहयोग गरेको छ।
हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा रहेको बताउँदै अध्यक्ष पोखरेलले नयाँ मूल्यपछि किसानले लागत नजिकको मूल्य पाउन थालेको र यसले केही राहत मिलेको उल्लेख गर्नुभयो। साथै उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी सहयोग तथा नीतिगत समर्थन आवश्यक रहेको उहाँको भनाइ छ।

