सर्लाही - सर्लाहीमा विद्यालयबाट फर्किंदै गरेकी ५ बर्षिया बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ।
बिहीबार दिउँसो बलरा नगरपालिका – ६ मिर्जापुरस्थित भित्री सडक खण्डमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना.४ त.८८३४ नम्बरको सिमेन्ट र छड लोड गरिएको ट्याक्टरले स्थानीय अर्जुन साहकि छोरी ५ बर्षिया अंकिता कुमारी साहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो। मिर्जापुरस्थित श्री आधारभूत विद्यालयबाट पढेर घर फर्किने क्रममा अंकितालाई ट्याक्टरले ठक्कर दिएको थियो।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्नाहा, छन्किटोला, इलाका प्रहरी कार्यालय बलरा र इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा संलग्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तर ट्याक्टर चालक बलरा नगरपालिका – ६ निवासी तेजा साहका करिब १८ वर्षीय छोरा कृष्णकुमार साह भने घटनापछि फरार भएका छन्।
उनको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

