Harsamaya
 सरकारलाई सर्वसत्तावाद हावी भयो - ऐन महर
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महर ।

काठमाडौं - नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारलाई सर्वसत्तावाद हावी भएको बताएका छन् । 

बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा महरले संविधान, ऐन कानून भन्दा माथि जस्तो गरि प्रस्तुत भइरहेको र सरकारलाई सर्वसत्तावाद हावी भएको बताएका हुन् । 

उनले सरकारका साथै सभामुखको भूमिकाप्रति पनि आफूहरुको प्रश्न रहेको बताए । निरन्तरतामा क्रमभङ्गताका नाममा प्रचलित सबै अभ्यास र कानूनहरुलाई नजरअन्दाज गरेर फरक ढङ्गले प्रधानमन्त्री अघि बढ्न खोजेको उनले आरोप लगाए । 

उनले सदनलाइ सरकारको छायाजस्तो गरि सभामुखको कार्यशैली उन्मुख देखिएकाले आफूहरुले सरकार र सभामुखको भूमिकाप्रति प्रश्न उठाउँदै सदनमा विरोध जनाएको धारणा राखे । सदनमा विरोध गरेर जनताको आवाजलाई अवरोध गर्ने आफुहरुको रहर नभएको उनको भनाइ छ ।

उनले सरकारलाई उत्तरदायी बनाउने प्रतिपक्षीको जिम्मेवारी बहन गरेको भन्दै लामो समयको सदन अवरोधले देशलाई राम्रो गर्दैन भन्ने कुरामा संवेदनशील रहेको जिकिर गरे । 

त्यस्तै उनले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थमन्त्रीले गरेको संशोधनले चलखेलको शंका उत्पन्न भएको समेत बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update