Harsamaya
रवि-मोदी भेट,  सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने भारतको प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ।

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र कोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लामिछानेसँगको भेटलाई सुखद र फलदायी रहेको बताएका छन्। उनले साझा समृद्धि र भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको चाहनालाई स्वागत गर्दै त्यसमा आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लाग्यो। साझा र समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्दछु,’ मोदीले भनेका छन्।

मोदीले भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत नेपाललाई प्राथमिकताप्राप्त साझेदारका रूपमा व्याख्या गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘नेपाल हाम्रो ‘छिमेकी पहिलो’ नीतिको प्राथमिक साझेदार हो। हामी नेपाल सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन चाहन्छौं,’ उनले उल्लेख गरेका छन्।

लामिछानेको भारत भ्रमणका क्रममा भएको यो भेटलाई नेपाल–भारत सम्बन्धका साथै नेपालमा उदाइरहेको नयाँ राजनीतिक शक्तिप्रति भारतको चासोका रूपमा समेत हेरिएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update