काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर प्रतिपक्षका प्रश्नको सामना गर्न आग्रह गर्दै सदनको निरन्तर अवरोधप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले राष्ट्रियताको विषयमा सत्ता र प्रतिपक्षबीच विभाजन हुन नहुने बताएकी छन्। ‘विपक्ष सधैं सही हुन्छ भन्ने होइन, सत्तापक्ष सधैं गलत हुन्छ भन्ने पनि होइन। तर राष्ट्रिय हित र राष्ट्रियताका विषयमा हामी एक ठाउँमा उभिन सक्नुपर्छ,’ उनले लेखेकी छन्।
उनले तीन दिनदेखि संसद् प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै जनताले सांसदहरूलाई केवल हाजिर गर्न र भत्ता बुझ्नका लागि नपठाएको टिप्पणी गरेकी छन्। बजेटमाथिको महत्वपूर्ण छलफल हुनुपर्ने समयमा सदन अवरुद्ध हुनु देशकै लागि दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
‘देशको विकास र भविष्य निर्धारण गर्ने बजेटमाथि बहस हुन सकेको छैन। संसद् बन्द हुँदा घाटा कुनै दललाई होइन, सिंगो देशलाई भइरहेको छ,’ उनले भनेकी छन्।
तामाङले सत्ता र प्रतिपक्ष दुवैले आफ्नो अडानमा अडिग रहँदा संसद् बन्धक बनेको संकेत गर्दै परिवर्तनका लागि ज्यान दिएका ‘जेनजी आन्दोलन’का सहिदहरूको बलिदानसमेत सम्झिएकी छन्। ‘यदि हामी फेरि पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने राजनीतिक संस्कारमै फर्कियौं भने परिवर्तनका लागि बलिदान दिने ७३ जना सहिदका आत्माले के सोच्लान् ?’ उनले प्रश्न गरेकी छन्।
सभामुख डोलप्रसाद अर्यालप्रति सहानुभूति व्यक्त गर्दै उनले सदन सञ्चालन गर्ने संवैधानिक जिम्मेवारी पाएका सभामुख स्वयं निरीह बनेको दृश्य देख्नुपरेको बताएकी छन्।
प्रधानमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै तामाङले लेखेकी छन्, ‘तपाईं सरकार प्रमुख मात्र होइन, देशको अभिभावक पनि हो। सदनमा आइदिनुस्, प्रतिपक्षका प्रश्नको जवाफ दिनुस्, संसद्लाई निकास दिनुस्। सरकारको नेतृत्व गर्ने व्यक्तिले संवादबाट भाग्ने होइन, जवाफदेहिताको उदाहरण प्रस्तुत गर्नुपर्छ।’
उनले संसद्को गतिरोध तत्काल अन्त्य गरी बजेटमाथिको छलफल अघि बढाउन प्रधानमन्त्री स्वयंले पहल गर्नुपर्नेमा जोड दिएकी छन्। ‘जनताले परिणाम खोजिरहेका छन्, बहाना होइन,’ उनको भनाइ छ ।

