Harsamaya
नेविसंघ अध्यक्षको जिम्मेवारी धनकुटाकी करूणा कटुवाललाई
धनकुटाकी करूणा कटुवाल।

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा धनकुटाकी करूणा कटुवाललाई नियुक्त गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

सोमबार पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति श्री गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ - नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा श्री करूणा कटुवाल (धनकुटा)लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ ।’

बैशाख तेस्रो साता नेविसंघ अध्यक्ष डुजाङ शेर्पाले पद छाडेको बताएका थिए । एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update