Harsamaya
लिखित प्रश्नबिनाको प्रश्नोत्तर स्वीकार्य नहुने एमाले सांसद महरको तर्क
सांसद ऐनबहादुर महर ।

काठमाडौं - नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन प्रक्रियाप्रति नियमापत्ति जनाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रधानमन्त्रीले सदनमा उपस्थित भई सम्बोधन गर्न चाहेको विषयप्रति सम्मान व्यक्त गरे पनि संविधान र प्रतिनिधिसभा नियमावलीको पालना हुनुपर्नेमा जोड दिए ।

उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ को उपनियम (३) र (४) मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि कम्तीमा तीन दिनअघि प्रश्न दर्ता गर्नुपर्ने तथा त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख रहेको बताए ।

उनले भने, ‘हामी संविधान र नियमावलीभन्दा माथि छैनौं । सभामुख, प्रधानमन्त्री वा माननीय सदस्य कसैलाई पनि नियमभन्दा माथि रहने छुट छैन, सम्मानिय प्रधानमन्त्री ज्यु सदनमा आउने कुरा र सदनलाई सम्बोधन गर्न चाहने विषयप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । मेरो नियमआपत्ति दर्ज गर्न चाहन्छु । प्रतिनिधिसभाको नियमावली २०७९ को नियम ५६ को उपनियम ३ र ४ मा प्रष्ट व्यवस्था गरेको छ प्रधानमन्त्री ज्युसँगको प्रश्नउत्तरमा तीनदिनदेखि प्रश्न दर्ज गर्ने र त्यसपछि प्रधानमन्त्री ज्युले जवाफ दिनुपर्ने भन्ने कुरा बडो स्पस्ट सँग व्याख्या गरेकोले सम्मानिय प्रधानमन्त्री ज्युबाट यस्तो खालको नियम विपरितको काम नहोस् । मान्य सदस्यज्युहरुको लिखित प्रश्न लिइयोस् ।’

उनले प्रधानमन्त्रीबाट नियमावलीविपरीत कार्य नहोस् भन्दै सांसदहरूले लिखित रूपमा दर्ता गरेका प्रश्नलाई प्रक्रियाअनुसार अघि बढाउन आग्रह गरे । साथै, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमावलीअनुसार सञ्चालन हुनुपर्ने उनको माग थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update