Harsamaya
थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सामाजिक सञ्जाल टिकटकमा ‘तुलसा अधिकारी’ नामले परिचित तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार अधिकारीलाई शनिबार राति काठमाडौं ल्याइएको हो। उनीविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ (क्रिमिनल बेनिफिट) तथा ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ।

प्रहरीका अनुसार अधिकारीलाई आइतबार थुनछेक प्रयोजनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइनेछ। उनी फरार रहेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। त्यसपछि इन्टरपोलको समन्वय र सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।

प्रहरी स्रोतका अनुसार तुलसा कलेक्सन प्रालिकी सञ्चालक रहेकी अधिकारीविरुद्ध ललितपुरका एक व्यवसायीले जाहेरी दिएका थिए। जाहेरीमा अधिकारीले आफूलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै लामो समयसम्म ब्ल्याकमेल गरेको आरोप लगाइएको छ।

पीडित व्यवसायीले अधिकारीले धम्की र दबाबमार्फत आफूसँगबाट करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिएको दाबी गरेका छन्।

उक्त प्रकरणबारे थप अनुसन्धान र न्यायिक प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update