Harsamaya
गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा रहेको बताएका हुन् ।

‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ । किनभने यसले आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो’, उनले भने।

उनले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था नभइ यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि रहेको बताए । ‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्’ उनले भने ।

मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनले उल्लेख गरे । साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरे ।

‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुंदैनन्, यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन’, राष्ट्रपति पौडेलले भने ।

उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताए । उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनैै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ भन्नेमा जोड दिए।

उनले नागरिकले सुशासनसहितको समृद्धि खोजेका छन् भन्दै यसका लागि हाम्रा स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताए । राष्ट्रपति पौडेलले, ‘आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सक्छौं । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो । यो अर्थमा आजको दिनले आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौ।’

राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन भन्दै उनले हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ र राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने धारणा व्यक्त गरे ।

‘गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु’, उनले भने ।

हामीले प्राप्त उपलब्धीलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्ने उनको भनाइ थियो । साथै, प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक सम्बृद्धि सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय भएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update