Harsamaya
काठमाडौं उपत्यकामा भारी वर्षा, सिन्धुपाल्चोकमा सबैभन्दा धेरै पानी पर्‍यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं -  काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागमा राति १० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलीमिटर वर्षा भएको छ । यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलीमिटर वर्षा मापन भएको छ ।

सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलीमिटरमाथि वर्षा भएको छ । रातभर नै काठमाडौंलगायत धेरै ठाउँमा वर्षा भएको छ ।

यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ । बदली बढेकाले तापक्रम घटेर शीतल महसुस भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्नसक्ने जानकारी दिएका छन् । जेठ १८ गतेसम्म नै मौसम बदली रहने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update