Harsamaya
तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्युको जोखिम बढ्दै
सांकेतिक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा पनि वन्यजन्तु बिरामी पर्ने, अस्पताल भर्ना हुने तथा मृत्यु हुने जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ ।

अनुसन्धानले जलवायु परिवर्तनका कारण वन्यजन्तुमाथि गम्भीर खतरा बढ्दै गएको चेतावनी दिएको छ ।

सिड्नी विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनमा न्यू साउथ वेल्स राज्यका करिब १२ हजार वन्यजन्तुको दुई दशकको स्वास्थ्य अभिलेख विश्लेषण गरिएको थियो ।

अध्ययनअनुसार औसत तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिरामी हुने र मृत्यु दर बढ्न थालेको पाइएको छ ।

अनुसन्धानले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा अस्पताल भर्ना हुने वा मृत्यु हुने सम्भावना २५ डिग्रीको तुलनामा १.५ देखि ३.५ गुणासम्म बढी हुने देखाएको छ ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनसँगै बढ्दो गर्मीबाट वन्यजन्तुको संरक्षणका लागि तत्काल प्रभावकारी कदम आवश्यक रहेको बताएका छन् ।

अध्ययनमा सबैभन्दा बढी असर उत्तर–पश्चिमी भित्री क्षेत्रमा देखिएको छ, जहाँ बढ्दो तापक्रम र खडेरीका कारण वन्यजन्तुको संख्या तीव्र रूपमा घटिरहेको छ । अनुसन्धानकर्ताहरूका अनुसार रोग, वन विनाश र चरम गर्मीले वन्यजन्तुको जोखिम अझ बढाएको छ ।

अनुसन्धानकर्ता भ्यालेन्टिना मेल्लाले छोटो समयसम्म तातो मौसम सहन सकिए पनि दीर्घकालमा यस्तो अवस्था टिकाउ नहुने भने । उनले चेतावनी दिँदै भने, ‘यदि समयमै संरक्षणका उपाय अपनाइएन भने बढ्दो गर्मीले सङ्कटमा रहेका वन्यजन्तुलाई विलुप्तिको नजिक पुर्याउन सक्छ ।’

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update