काठमाडौं - यसवर्ष विसं २०८३ मा प्रदर्शन भएका फिल्महरू मध्येमा हालसम्म सबै भन्दा बढी कमाउने फिल्म ‘लालीबजार’ बनेको छ । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।
बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले जेठ ९ गते शनिबारसम्मको व्यापार विवरण सोमबार सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्यांकअनुसार ‘लालीबजार’ले गत शनिबारसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ घरेलुबजारमा कमाइ गरेको छ । फिल्मका लागि कुल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बजारमा राम्रो सफलता हासिल गरिरहेको र २ लाख बढी दर्शकले हेरिसकेको कार्यकारी निर्माता प्रदीप भट्टराईले बताएका छन् ।
उनले भने, ‘बोर्डमार्फत सार्वजनिक विवरण गत शनिवारसम्मको मात्र हो, फिल्मलाई २ लाख बढी दर्शकले हेरिसक्नुभएको छ । मनोरञ्जनसँगै शिक्षाको प्रभावलाई फिल्ममार्फत प्रस्तुत गरेका थियौँ, जसलाई दर्शकले रुचाउनुभयो ।’
उनले नेपालको सफलतासँगै अब फिल्मले डायस्पोरा प्रदर्शन पनि सुरुआत गर्ने जानकारी दिए । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रसंशा सुवेदी लगायत कलाकारको अभिनय रहेको छ ।
तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको भिडभाड उस्तै रहेको छ । षट्कोण आट्र्सले निर्माण गरेको उक्त फिल्मलाई हेर्न परिवार नै हलमा आइरहेका छन् । ‘लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् ।
फिल्म हेरेर निस्किने अधिकाँसले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् । दर्शकले दिईरहनुभएको ‘वर्ड अफ माउथ’ ले आगामी दिन फिल्मका लागि सुखद हुने अपेक्षा बढेको छ ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

