काठमाडौं - हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केहि स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसमविद्ले बताएका छन् ।
आज राती भने, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

