काठमाडौं - सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो ।
बैठकको कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर भन्दै विरोध गरेको हो ।
उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे । उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन गर्नुभयो ।’
सभामुख अर्यालले संसदीय मर्यादामा बसेर विरोध गर्न निर्देशन दिए । यति बेला श्रम संस्कृतिका सांसद आफ्नो शरीरमा पोस्टर टाँसेर सिटमा बसेका छन् ।

