काठमाडौं - कान्तिपुर फिल्म एकेडेमीको पाँचौँ थिएटर प्रोडक्सन ‘महाभारत’ आगामी जेठ १४ गतेदेखि कान्तिपुर थिएटरमा सार्वजनिक मञ्चन हुने भएको छ।
निर्माण पक्षले नाटकको आधिकारिक मञ्चन मिति घोषणा गर्दै नेपाली रंगमञ्चको दायरा अझ फराकिलो बनाउने उद्देश्यसहित नयाँ प्रस्तुति ल्याउन लागेको जनाएको छ।
नाटकमा नेपाली चलचित्र, टेलिभिजन, रंगमञ्च, फिल्म स्कुल तथा थिएटरका अनुभवी र नवकलाकारहरू रमेश बुढाथोकी, मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरी र सुप्रज्ञा शर्मा पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन्।
नाटकको निर्देशन नविन भट्टले गर्दैछन्। निर्माण टोलीका अनुसार ‘महाभारत’ निर्माणमा पर्दाअगाडि र नेपथ्यमा गरी ५० भन्दा बढी कलाकार तथा रंगकर्मी संलग्न रहेका छन्।
यसअघि ‘मीरा’, शिरीषको फूल, ‘महारानीको जात्रा’ र सेतो धरती जस्ता प्रस्तुति ल्याइसकेको टोलीले दर्शकको सुझाव र अपेक्षालाई ध्यानमा राख्दै यसपटक थप सशक्त प्रस्तुति दिने जनाएको छ।
नाटक ‘महाभारत’को टिकट बुकिङ जेठ ११ गतेदेखि खुल्ने निर्माण पक्षले जानकारी दिएको छ।

