Harsamaya
पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन : शंकर पोखरेल
नेकपा एमालेका नेता शंकर पोखरेल ।

काठमाडौं - नेकपा एमालेका नेता शंकर पोखरेलले पपुलिज्म समाजवादको विकल्प हुन नसक्ने बताएका छन् । उनले विचारधारासहितको सक्षम र लोकप्रिय नेतृत्वबिनाको राजनीति जनतालाई भ्रममा पार्ने माध्यम मात्र बन्ने दाबी गरेका छन् ।

३३ औँ मदन आश्रित स्मृति दिवस तथा जनताको वहुदलीय जनवाद र युवा विषयक विमर्श कार्यक्रममा बोल्दै उनले समाज परिवर्तनका लागि वैचारिक स्पष्टता, राजनीतिक क्षमता र संगठनात्मक बल आवश्यक पर्ने बताए ।

उनले भने, ‘समाज बदल्नका लागि विचारधारासहितको लोकप्रिय व्यक्ति, राजनीतिक र वैचारिक हिसाबले सक्षम व्यक्तिले मात्र त्यो अभिभारा पूरा गर्न सक्छ । त्यस अर्थमा पपुलिष्टको विकल्प विचारधारा भएको लोकप्रिय युवा आजको आवश्यकता हो ।’

उनले केवल लोकप्रियताका आधारमा विकल्प निर्माण हुन नसक्ने जिकिर गर्दै वैचारिक धरातल कमजोर भए पपुलिज्मको सिकार बन्ने खतरा रहने बताए ।

‘यदि राजनीतिक, सांगठनिक र वैचारिक क्षमता नभए पनि पुग्छ, विकल्प भइन्छ भन्ने सोचमा जाने हो भने त्यो पपुलिज्मको सिकार बन्नु हो,’ उनले भने, ‘लोकप्रियता मात्रै पर्याप्त हुँदैन, समाजलाई सही दिशामा लैजान सक्ने वैचारिक शक्ति पनि आवश्यक हुन्छ ।’

पोखरेलले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अहिले राज्य सञ्चालनमै पपुलिष्ट शक्तिहरू रहेको बताए । जनताले उनीहरूलाई परीक्षणको अवसर दिएको उल्लेख गर्दै उनले परिणामले नै वास्तविकता उजागर गर्ने दाबी गरे ।

‘पपुलिष्टहरू नै राज्यको नेतृत्वमा छन् । जनताले हेरौँ है भनेर अवसर दिएका छन् । उनीहरूले कस्तो काम गर्छन् भन्ने कुरा समयले देखाउँछ,’ उनले भने, ‘तर पपुलिज्म कुनै दीर्घकालीन राजनीतिक विकल्प होइन । यो पूँजीवादी शक्तिहरूको रक्षा गर्ने माध्यम मात्र हो, समाजवादको बाटो होइन ।’

उनले पछिल्लो समय देशमा दल, नेता र राजनीतिक प्रणालीप्रति नकारात्मक धारणा निर्माण गरिएको उल्लेख गर्दै त्यसले वास्तविक उपलब्धिलाई ओझेलमा पारेको बताए ।

उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेका अर्थतन्त्रसम्बन्धी विवरणको प्रसंग उल्लेख गर्दै गएको दशकमा नेपालमा उल्लेखनीय परिवर्तन भएको दाबी गरे ।

‘भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थमन्त्री भएका स्वर्णिम वाग्ले जीले अर्थतन्त्रको चित्र सार्वजनिक गर्नुभयो । उहाँले गएको दशकमा के परिवर्तन भयो भन्ने कुरा देखाउन खोज्नुभयो,’ उनले भने, ‘त्यसपछि धेरैले टिप्पणी गरे आखिर गएको दशकमा यति धेरै काम भएका रहेछन् नि त ।’

उनले निराशा फैलाउने राजनीतिक प्रवृत्तिले नै विगत दशकको उपलब्धि स्वीकार गर्न बाध्य भएको बताए । ‘जसले निराशाको खेती गर्यो, उसैले गएको दशकको यथार्थ स्वीकार गर्नुपर्याे,’ उनले भने, ‘देशमा पूर्वाधार, अर्थतन्त्र, सामाजिक क्षेत्र र विकासका विभिन्न आयाममा महत्वपूर्ण काम भएका छन् । त्यसलाई नकारेर मात्रै राजनीति गर्न खोजियो ।’

पोखरेलले गएको दशकको परिवर्तनको नेतृत्व नेकपा एमालेले गरेको दाबी गरे । उनले राजनीतिक दल र नेताहरूप्रति योजनाबद्ध रूपमा अविश्वास सिर्जना गरिएको आरोपसमेत लगाए ।

‘यस्तो प्रकारको मनोविज्ञान तयार गरियो कि पार्टीहरू खराब, नेताहरू खराब, सबै खराब भन्ने भाष्य निर्माण गरियो,’ उनले भने, ‘तर यथार्थमा गएको दस वर्षमा देशमा उल्लेखनीय परिवर्तन भएका छन् ।’

उनले पपुलिष्ट शक्तिहरूसँग ती परिवर्तनलाई निरन्तरता दिने क्षमता नरहेको जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update