काठमाडौं - नेपाल सरकारले मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी बाँडफाँड स्पष्ट पार्ने 'नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३' राजपत्रमा प्रकाशित गरेको छ ।
नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको यो नियमावली राजपत्रमा सूचना जारी भएसँगै तत्कालै कार्यान्वयनमा आएको छ ।
यस नयाँ नियमावलीले साविकको 'नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४' लाई खारेज गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा १८ वटा मन्त्रालयको कार्यसूची स्पष्ट पारेको छ । नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सबैभन्दा महत्वपूर्ण र नीतिगत ४८ वटा कार्यक्षेत्र तोकिएको छ ।
जसमा राष्ट्रिय सुरक्षा, कूटनीतिक गतिविधि, भ्रष्टाचार नियन्त्रण, साइबर सुरक्षादेखि पछिल्लो समय चर्चामा रहेको कृत्रिम बुद्धिमत्तासम्मका विषयहरू समेटिएका छन् ।
त्यसैगरी, अर्थ मन्त्रालयलाई आर्थिक अवस्थाको विश्लेषण, बजेट तर्जुमा र राजस्व प्रशासनसहित ४६ वटा जिम्मेवारी सुम्पिएको छ । गृह मन्त्रालयको कार्यक्षेत्रमा आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था, नागरिकता र प्रहरी प्रशासनसहित ५२ वटा बुँदाहरू उल्लेख छन् ।

