Harsamaya
विद्यालयहरूमा नयाँ कार्यतालिका कार्यान्वयन गर्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।

काठमाडौं - सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूको नयाँ कार्यतालिका कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको परिपत्रमा शैक्षिक सत्र २०८३ देखि विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार कार्यघण्टा मिलाएर पठनपाठन सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह तथा सबै विद्यालयहरूलाई पठाइएको छ ।

मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार अब विद्यालयहरूमा साताको दुई दिन बिदा हुनेछ । सोही निर्णय कार्यान्वयन गर्न मन्त्रालयले नयाँ कार्यतालिका लागू गर्न आग्रह गरेको हो ।

परिपत्रअनुसार प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय छुट्याउनुपर्नेछ । सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसम्बन्धी क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै हिउँदे र वर्षे बिदा साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ । पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्याङ्कन पठनपाठन प्रभावित नहुने गरी सञ्चालन गर्न सकिनेछ भने अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन प्रयोग गर्नुपर्नेछ ।

केन्द्रले शुक्रबार समुदाय, परिवार, सन्दर्भ सामग्री तथा सूचना प्रविधिमा आधारित परियोजना र प्रयोगात्मक कार्य सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । आवश्यकताअनुसार विद्यार्थीलाई प्रस्तुति गर्ने अवसरसमेत उपलब्ध गराइने जनाइएको छ ।

परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालनका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको ‘परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२’ उपयोग गर्न सकिने केन्द्रले जनाएको छ ।

school-niyam_Qp3Cx3LMUG-1778599579.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update