Harsamaya
सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ।

सुर्खेत - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधीबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको बताएका छन् ।

नेपाली काँग्रेसले सोमबारदेखि सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले दुई तिहाइको सरकारले अध्यादेशबाट मुलुक चलाउनु खोज्नु र सुकुम्बासीहरुलाई अपराधी जस्तै लखेट्नु अलोकतान्त्रिक क्रियाकलाप भएको बताए ।

नेपाली काँग्रेस लोकतान्त्रिक पद्धतीलाई मान्ने पार्टी भएकाले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्ने र जनविरोधी क्रियाकलापमा खवरदारी गर्ने बताए ।

‘चुनावमा काँग्रेसका लागि हारजित ठुलो कुरा होइन’ उनले भने, ‘एउटा निर्वाचन हार्दैमा काँग्रेस सकिदैन । लोकतान्त्रिक चरित्र र लोकतन्त्रको संस्थागत बिकासका लागि कसैसँग सम्झौता हुँदैन ।’ सरकारका गतिविधीहरु लोकतान्त्रिक नभएकाले त्यसको लागि खवरदारी जरुरी भएको उनले औल्याए ।

पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थित गरेर पार्टीलाई अगाडि बढाउने कुरामा सबै नेताहरुसंग छलफल भइरहेको उपसभापति शर्माले बताए ।

पार्टीभित्रका विवाद मिलाएर एकताबद्ध काँग्रेसका लागि सबै पक्षसंग संवाद भइरहेको उनले जानकारी दिए । पार्टीभित्रको बृहत एकताका लागि सबै नेताहरुलाई पार्टीले सम्मान गर्ने उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update