Harsamaya
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्कको कडा आपत्ति
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ।

काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले संसद् छलेर राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गर्दै अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्।

हर्क साम्पाङले वरियताको चौथो क्रममा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नु सरकारको अर्को ठूलो गल्ती भएको दाबी गरेका छन्। गलत कार्यलाई कदापी सही भन्न सकिन्न भन्दै उनले उक्त कदमप्रति घोर आपत्ति व्यक्त गरेका छन्।

उनले सुशासन र थितिको आश्वासन दिएर सत्तामा आएको दलले नै विधि मिचेर नियुक्ति गर्नुले राजनीतिक तथा कानुनी स्वार्थ लुकेको आशंका पैदा गरेको बताएका छन्। सहकारी ठगी प्रकरण तथा भदौ २३–२४ मा भएको ‘जेन जेड आन्दोलन’ जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले यस्तो नियुक्ति गरिएको हुन सक्ने उनको भनाइ छ।

नियुक्तिसम्बन्धी छलफलका क्रममा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब र प्रभाव सिर्जना गरिएको आरोप पनि उनले लगाएका छन्। साथै, आफ्नै पार्टीबाट प्रतिनिधित्व गर्ने उपसभामुखले समेत वरियताको क्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गरेकोप्रति उनले खेद व्यक्त गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update