Harsamaya

काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा खुम्बु आइसफल क्षेत्रमा मंगलबार बिहान सेराक भत्किदा एक भारतीय पर्वतारोही र एक शेर्पा हिमाल गाइड घाइते भएका छन् ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार बिहान करिब ५ः४५ बजे क्याम्प–२ तर्फ जाँदै गरेका आरोही र गाइडहरूको समूहमाथि ठूलो बरफको संरचना (सेराक) फुटेर झरेको थियो । करिब २० मिटर तलसम्म खसेको बरफले बाटोमा रहेका सदस्यहरूलाई असर पुर्याएको हो ।

घटनामा संखुवासभाका ४४ वर्षीय पर्वतीय गाइड पेम्बा तेन्डुक शेर्पा र सेभेन समिट ट्रेक्ससँग आबद्ध ४० वर्षीय भारतीय पर्वतारोही निमिश कुमार सिंह घाइते भएका छन् ।

पायोनियर एडभेन्चर र समिट फोर्स एक्सपिडिसनका गाइडहरूले तत्काल उद्धार गरी आधार शिविरमा जानकारी गराएका थिए। त्यसपछि Seven Summit Treks को टोलीले हेलिकप्टरमार्फत उद्धार समन्वय गरेको थियो । लुक्लाबाट उडेको हेलिकप्टर बिहान ६ः३० बजे घटनास्थल पुगेको थियो ।

घाइते दुवै जनालाई काठमाडौंस्थित अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । पर्यटन विभागले उनीहरूको अवस्था हाल ज्यान जोखिममा नरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update