Harsamaya
आज वैशाख शुक्ल पूर्णिमाका दिन २५७०औँ बुद्ध जयन्ती मनाइँदै
विश्वमा शान्तिका अग्रदूतका रूपमा परिचित सिद्धार्थ गौतम। 

काठमाडौं - आज (शुक्रबार) विश्वमा शान्तिका अग्रदूतका रूपमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती( बुद्ध जयन्ती) मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँने गरिन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५७० वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । 

राजदरबारको सुख-सुविधामा हुर्किएका उनले बाल्यकालदेखि नै जीवनका गहिरा प्रश्नहरूबारे चिन्तन गर्न थाल्नुभएको थियो । यद्यपि, बाह्य संसारमा व्याप्त दुःख, रोग, बुढ्यौली र मृत्युका यथार्थले उनलाई गहिरो रूपमा प्रभावित गर्‍यो । यही अनुभूतिले उनको जीवनलाई नयाँ मोड दियो । केवल २९ वर्षको उमेरमा, सबै राजसी वैभव त्याग्दै उनी सत्यको खोजीमा निस्कनुभयो; एक यस्तो यात्रा, जसले अन्ततः मानव इतिहासकै एक महान आध्यात्मिक मार्गको जन्म गरायो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update