Harsamaya
महाधिवेशनका लागि कांग्रेसले थप्यो क्रियाशील सदस्यता इन्ट्रीको समय
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाली कांग्रेसले आगामी १५ औं महाधिवेशनको तयारीलाई तीव्रता दिँदै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ ।

ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बुधबार बसेको 'सदस्यता व्यवस्थापन केन्द्रीय समिति'को बैठकले डिजिटल प्रणालीमा सदस्यता प्रविष्ट गर्ने समय एक हप्ता थप गर्ने निर्णय गरेको हो ।

महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले १५ औं महाधिवेशनका लागि जिल्ला र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता र नवीकरणको विवरण डिजिटल सिस्टममा इन्ट्री गर्न बाँकी रहेका हकमा वैशाख १६ गतेदेखि लागू हुने गरी सात दिनको समय थप गरेको छ ।

शुल्कसहित विवरण बुझाउन बाँकी रहेका जिल्ला र क्षेत्रहरूले अब एक हप्ताभित्र अनिवार्य रूपमा अनलाइन इन्ट्री गरिसक्नुपर्नेछ ।त्यसैगरी, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको हकमा पनि बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । अधिवेशन सम्पन्न भइसकेका र हुन बाँकी रहेका जनसम्पर्क समितिहरूलाई वर्गीकरण गरी समस्या पहिचान गर्ने र विधान बमोजिम सदस्यता अद्यावधिक गर्ने निर्णय भएको छ ।

डिजिटल सिस्टममा इन्ट्री हुन बाँकी रहेका जनसम्पर्क समितिहरूका लागि पनि वैशाख १६ गतेदेखि नै लागू हुने गरी एक हप्ताको समय दिइएको छ । जनसम्पर्क समितिका लागि अनलाइनमार्फत क्रियाशील सदस्यता भर्ने व्यवस्थालाई निरन्तरता दिँदै यसबारे सम्बन्धित देशका समिति अध्यक्षलाई जानकारी गराइने र पार्टीको वेबसाइटमा समेत सूचना राखिने कांग्रेसले जनाएको छ ।

नेपाली नागरिकता भएका व्यक्तिहरूका हकमा जनसम्पर्क समिति र क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइने र अन्यको हकमा पार्टीको विधान २०१७ (एघारौं संशोधन सहित) बमोजिम हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update