Harsamaya
कलाकार निश्चल बस्नेतको प्रस्ताव - चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गरौं
निर्देशक तथा कलाकार निश्चल बस्नेत ।

काठमाडौं - निर्देशक तथा कलाकार निश्चल बस्नेतले चलचित्र क्षेत्रसँग सम्बन्धित नियामक निकायप्रति असन्तुष्टि जनाउँदै चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गर्न माग गरेका छन्।

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र लालीबजारमाथि अदालतले रोक लगाउने आदेश दिएपछि उनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन्। निर्देशक यम थापाको निर्देशनमा बनेको उक्त फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो।

वादी समुदायसम्बन्धी विषयवस्तु प्रस्तुतिको विरोध गर्दै रोशनी नेपालीले मुद्दा दायर गरेपछि उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्म प्रदर्शन रोक्न निर्देशन दिएको हो।

अदालतको आदेशप्रति प्रतिक्रिया दिँदै बस्नेतले आदेशको सम्मान गर्नुपर्ने भए पनि फिल्म र फिल्मकर्मीको पीडा बुझिनुपर्ने बताएका छन्। ‘अदालतको आदेश नमान्ने कुरै भएन, तर फिल्म किन र कसरी बनाइन्छ भन्ने पनि बुझिनुपर्छ,’ उनले उल्लेख गरेका छन्।

उनले रिलिजको मुखमा फिल्महरू बारम्बार कानुनी झमेलामा फस्दा चलचित्रकर्मीको मनोबल कमजोर हुने भन्दै चिन्ता व्यक्त गरे। बस्नेतले हालको दर्ता र सेन्सर प्रक्रिया नै पुनर्विचार गर्नुपर्ने धारणा राख्दै ‘अब फिल्म अदालतमै दर्ता र सेन्सर गरौँ, विकास बोर्ड र सेन्सर बोर्ड खारेज गरौँ,’ भन्ने आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update