Harsamaya
दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ।

काठमाडौं - परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका दिए ।

उनले भने, ‘दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना रहेका छन् ।’

हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

सन् २०२१ यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको संख्या २१ हजार पुगेको र त्यसमध्ये धेरैजना शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ ।

कम्बोडिया सरकारले हालै ९ जना नेपालीलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

उनले भने, ‘सन २०२१ यता विभिन्न उदेश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको संख्या २१ हजार पुगिसकेको छ । कम्बोडिया सरकारले हालै ९ जना नेपालीहरुलाई विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रकाउ पनि गरेको छ । जसमध्ये ५ जनालाई संगठित ठगी अपराधमा ‘सिम रिप प्रोभेन्सियल कोर्ट’मा पेस गरिने र ४ जनालाई अनुसन्धानका लागि थुनामा राखिने गरी कार्य भैइरहेको हामीलाई प्राप्त भएको छ

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update