काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवासमा रहेका नेपालीहरूलाई देश निर्माणको वास्तविक शक्ति बनाउने उद्देश्यका साथ एक योजना सार्वजनिक गरेको छ।
'समर्थक भएर संसद बदल्यौं, सदस्य भएर देश बदल्छौँ' भन्ने मूल नाराका साथ पार्टीको प्रवास नेपाली सम्पर्क विभागले आज एक विज्ञप्ति जारी गर्दै प्रवासलाई केन्द्रमा राखेर विभिन्न आठ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो।
विभागका प्रमुख दीपक बोहराद्वारा जारी विज्ञप्तिमा प्रवासबाट कम्तीमा १० लाख सदस्य विस्तार गर्ने लक्ष्य राखिएको उल्लेख छ। पार्टीले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न 'प्रोफाइल बैंक' स्थापना गर्ने भएको छ।
यो बैंकमार्फत विदेशमा आर्जन गरेको पूँजी र सीपलाई नेपालमा उद्यमशीलता र लगानीका क्षेत्रमा परिचालन गरिनेछ। प्रोफाइल बैंकपछि 'आइडिया बैंक' को अवधारणा समेत अघि बढाइने रास्वपाले जनाएको छ। त्यस्तै, प्रवास विभागकै नेतृत्वमा पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने अभियान सुरु गरिने र यसमा विश्वभर रहेका प्रवासी नेपालीहरूको सक्रिय सहभागिता रहने बताइएको छ।

