Harsamaya
ओली लेखकविरुद्धको जाहेरी जगाएर अनुसन्धान गरिने
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक ।

काठमाडौं - जेनजी आन्दोलनका घटनामा मृतक परिवारले दिएको उजुरी लामो समयपछि पुनः सक्रिय बनाइएसँगै उच्चस्तरीय राजनीतिक व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ।

भदौ २३ र २४ गतेको प्रदर्शनमा ज्यान गुमाएका ४९ जनामध्ये ४२ जनाका परिवारले दिएको जाहेरीलाई पहिले तामेलीमा राखिएको भए पनि अहिले पुनः ‘जगाउने’ निर्णय गरिएको हो। ती उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएका थिए भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले असोज २७ गते तामेलीमा राख्ने निर्णय गरेको थियो।

तर, चैत १३ मा बनेको वालेन्द्र शाह नेतृत्वको सरकार तथा जाँचबुझ आयोगको सिफारिसपछि मुद्दा पुनः अघि बढाइएको हो। यससँगै एक जाहेरीका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।

प्रहरीका अनुसार दुवै जनालाई पक्राउ गरी हाजिरी जमानीमा रिहा गरिए पनि उनीहरूविरुद्ध प्रमाण संकलनको काम तीव्र बनाइएको छ। प्रदर्शनसँग सम्बन्धित भिडियो, फोटो र प्रत्यक्षदर्शीका बयान संकलन भइरहेको जनाएको छ।

यता, घटनामा मृत्यु भएका सात जनाको अझै पहिचान खुल्न नसकेको र डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया जारी रहेको प्रहरीको भनाइ छ।

लामो समयसम्म थन्किएको मुद्दा पुनः खुलाइएपछि जेनजी आन्दोलनसँग जोडिएको न्यायिक प्रक्रियाले नयाँ मोड लिएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update