Harsamaya
डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ पुग्यो, हवाई इन्धनको मूल्य पनि बढ्यो
नेपाल आयल निगम । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बैशाख ३ गते बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।

परिवर्तित मूल्यअनुसार, डिजेल-मट्टीतेलको मूल्य प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । 

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update